काठमाडौं ।
कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दोहोराइरहँदा हिजो (बुधबार) निर्वाचन आयोगका पदाधिकारीले परामर्श गरेका छन् ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट्दै निर्वाचनको मिति प्रस्ताव गरेका छन् । उनीहरुले मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सल्लाह दिएका छन् ।
आयोगले सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा दशैंलगत्तै चुनावी माहौल सुरु हुने जनाएको छ ।भने माघभित्र राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि निर्वाचन प्रक्रिया सकिने बताएको छ ।
आयोगका पदाधिकारीहरुले बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिका विषयमा परामर्श दिएका हुन् ।
आगामी २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेको आयोगले थप ३ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।














