पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।
पोखरा सभागृह हलमा मञ्चले आयोजना गरेको छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ मा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अवार्ड प्रदान गरेका थिए ।
पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।
भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने ।
१९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।