काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए । इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे ।