भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरेपछि त्यहाँका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले ल्यान्डफिल्ड साइड भरतपोखरीमा सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक रु कति बेठिक ?’ शीर्षकमा आयोजित छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त छलफलमा वक्ताहरुले सरोकारवालाबीच छलफल नै नगरी महानगरले भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।

कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवालाबीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यानाकर्षण भएको बताए ।

भौगोलिक अवस्थितिअनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएको बताउँदै उनले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पारे ।

पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराए । यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उहाँले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।

साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारी (ठूला)ले फोहोरसँग विकास साट्नेमा आफूहरू सहमत नरहेको बताउँदै यस निर्णयलाई खारेज गर्न माग गर्नुभयो । साबिक भरतपोखरी गाविसका पूर्वअध्यक्ष गोपाल पुनले ल्यान्डफिल्ड साइट राख्ने निर्णयको सबै वडावासीले सामूहिक रुपमा विरोध गर्ने बताए ।

  • १७ असार २०७९, शुक्रबार १६:०६ प्रकाशित