काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसको शुभकामना दिदैँ सरकारले धान आयात प्रतिस्थापनको रणनीति लिएको बताएका छन् ।
उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका हुन् ।
उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीति लिएको बताए ।
परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको बताए।
नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको उनले बताए ।
प्रधानमन्त्री देउवाले उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ ले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षासहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे ।














