विराटनगर ।
विराटनगरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेम आलेको पुत्ला दहन गरिएको छ ।
दुई वर्षदेखि जग्गा रोक्का भएपनि अहिलेसम्म मुआब्जा नपाएका विराटनगर विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले पुत्ला दहन गरेका हुन् ।
प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आइतबार अपरान्ह उनीहरुले आलेको पुत्ला दहन गरेका हुन् ।उनीहरुले कि छिटो मुआब्जा दिनुपर्ने कि रोक्का भएको जग्गा बेचविखन गर्न फुकुवा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।
एक हजार ५०० मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई तीन हजार मिटर लामो धावनमार्गसहितको क्षेत्रीय विमानस्थल बनाउने भन्दै नेपाल सरकारले जग्गा रोक्का गरेको थियो ।
तर मन्त्री आलेको पूर्वाग्रहका कारण विराटनगर विमानस्थल विस्तारका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा विमानस्थल विस्तार र मुआब्जा वितरणका लागि एक रुपैयाँ पनि छुट्याएन । प्रभावित क्षेत्रका साढे तीन सय परिवारले अहिलेसम्म रोक्का भएको जग्गाको मुआब्जा पाउन सकेका छैनन् ।
मन्त्री आलेले आजै राजीनामा पत्र पार्टी अध्यक्ष माधव कुमार नेपाललाई बुझाएका छन्।














