पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

केन्द्रभाग मिडिया

पोखरा ।
भूगोलको आधारमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११ औं नगरसभामा बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।

महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । पोखरा महानगरपालिकाको बजेट शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी थियो । तर, बजेट बजेट वक्तव्य अघि नै रातो किताब सार्वजनिक भएको भन्दै एमालेबाट निर्वाचित नगर सभा सदस्यले विरोध जनाए पछि साँझ ७ बजे मात्र बजेट वक्तव्य सुरु भएको हो ।

एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः बसेको थियोे । महानगर स्रोतका अनुसार रातो किताव कसरी प्रकासित भयो भन्ने विषयमा छानविन गर्ने सहमति पछि बजेट प्रस्तुत भएको हो ।

पोखरा महानगरको प्रस्तुत बजेट हेर्न क्लिक गर्नुहोस्

  • ११ असार २०७९, शनिबार ०७:३२ प्रकाशित