भारतमा गुडिरहेको रेलमा आगजनी भएको छ । सैनिक भर्तिका लागि ल्याइएको योजनाको चर्को विरोध गर्दै आन्दोलित समुहले आज (शुक्रबार) बिहान गुडिरहेको दुई वटा रेलमा आगजनी गरेको भारती न्यूज च्यानल आजतकले जनाएको छ ।
बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसन भित्र छिरेर तोडफोड गरेका छन् ।
बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाव लगायतका राज्यहरुमा नयाँ भर्ति कार्यक्रमको ब्यापक विरोध भएको छ । अग्निपथ नामक सैनिक भर्ति योजना अनुसार साँढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ति लिइने छ ।
तर भर्ति गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालिन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो ।