मेलम्ची आयोजनाको सुरुङ जोगाउन पानी ल्याउन बन्द : मन्त्री चौधरीले

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौँ रुपैयाँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाण्डौ उपत्यका ल्याउन बन्द गर्नुपरेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले यस्तो स्पष्टीकरण दिए ।। उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा आयोजनाको पानी काठमाण्डौ ल्याउन वर्षायामसम्मका लागि बन्द गरिएको जानकारी गराए ।

उनले भने, ‘अर्बौँ रुपैयाँको लगानीमा बनेको सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव, त्यो ठाउँमा जडित ुअर्ली वार्निङ सिस्टमु र विज्ञहरूबाट प्राप्त सूचना र सुझावको आधारमा योजना सञ्चालन वर्षायामसम्मका लागि बन्द गरिएको हो । वर्षायाममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने बित्तिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना छ ।’

मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै आयोजनाको पानी काठमाण्डौ ल्याउने काम सुरु बताए । यस अवधिमा काठमाण्डौवासीलाई पानीको अभाव हुन नदिन बाग्मतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पथान्तरण गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरूको क्षमता बढाउने र अन्य स्रोतको उपयोग गर्ने कामहरू भइरहेको उनको भनाइ थियो ।

मन्त्री चौधरीले काठमाण्डौ उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए । उनले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको पनि बताए ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १७:०७ प्रकाशित