काठमाडौं ।
भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ ।
‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।
सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।
दर्शकसँगै बसेर फिल्म हेर्न हल पुगेकी फिल्मकी हिरोइन मिरुना मगरले आफुलाई ‘ब्याड टच’ गरेको भन्दै एक बौद्धिष्ट भिक्षुलाई झापड हानेकी थिइन् । यो केस प्रहरी सम्म पुगी उक्त भिक्षुलाई नियन्त्रणमा समेत लिएको थियो । सहमतिमै ती युवकलाई प्रहरी हिरासतबाट छुटाइएको थियो ।
यसले बौद्धिष्ट धर्मालम्बीको भावनामा चोट पुगेको भन्दै निकै आलोचना पनि भएको थियो । यस्तै फिल्म भित्र राखिएको बौद्धिष्ट धर्म सम्बन्धिको सिनले पनि मानमर्दन गरेको आरोप लागेको छ ।