पोखरा र चितवनमा एकसाथ विद्युत वितरण प्रणाली सुदृणिकरण र सौन्दर्यकरण गरिँदै

केन्द्रभाग मिडिया

गोविन्द सुवेदी
पोखरा र भरतपुरमा विद्युत वितरण प्रणाली भूमिगत गराउने प्रक्रिया अगाडि बढेको छ । नेपाल सरकार, विद्युत प्राधिकरण र एसियाली विकास बैंक(एडिवी) बीच सम्झौता भएर प्रक्रिया अगाडि बढेको पोखरा–भरतपुर विद्युत वितरण प्रणाली सुदृणिकरण आयोजनाका प्रमुख वीरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार सहरी विद्युत वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि एडिवीसंग सम्झौता भएर प्रक्रिया अगाडि बढेको हो ।

सम्झौता अनुरुप पोखरा र भरतपुर महानगरका लागि (एडीवी) बाट झण्डै दुई अर्ब भन्दा बढी रकम (१ करोड ६७ लाख २० हजार ८००.६२ युएस डलर र ४९ करोड ६८ लाख ३१ हजार ८९९.८० रुपैयाँ) सफ्ट लोनको रुपमा प्राप्त हुने उनले बताए । आयोजना अन्तर्गत विद्युत प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यकरणको कामसंगै हुनेछ । प्रमुख झाका अनुसार खासगरी यसमा तीन वटा काम हुनेछन् । पहिलो काम मुख्य चोकहरुमा विद्युत अन्डरग्राउड हुनेछ । दोस्रो ट्रान्सफर्मरको क्षेमता विकास (अपग्रेडिङ) गरेर वितरण प्रणाली सुदृढ गर्ने र तेस्रो काम खुला तारलाई इन्सुलेटेड गर्ने हुनेछ ।

यो आयोजनाका लागि भारतको टाटा प्रोजेक्टले ठेक्का लिएको प्रमुख झाले जानकारी दिए । अहिले सम्झौता पस्चात हुने डिटेल डिजाइन इन्जिनियरिङको काम भइरहेको उनले बताए । साथै आयोजनाका लागि प्रयोग हुने सामानको समेत आयात प्रक्रिया अगाडि बढाएको उनले बताए ।

अबको तीन महिनामा सबै प्रक्रिया सकेर विद्युत भूमिगत गर्ने कार्यको सुरुवात भइसक्ने उनले दाबी गरेका छन् । ‘पोखरा र भरतपुरका लागि निर्माण सम्झौता भएर त्यस पस्चातको काम डिटेल डिजाइन इन्जिनियरिङको काम भइरहेको छ । आवश्यक इक्युमेन्टहरु पनि आयात गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो सबै काम सकेर अब फिल्डमा तीन महिनाभित्र काम सुरु गर्छौं’ उनले भने ।

निर्माण आयोजनाले चार महिना अगाडि नै पोखरामा कार्यलय खोलेर तयारीलाई अगाडि बढाएको प्रमुख झाले जानकारी दिए । उनका अनुसार आयोजनाको काम ५ माघ २०८० (१९ जनवरी, २०२४) मा सम्पन्न हुनेछ ।

पोखरामा २५ र भरतपुरमा १५ किलोमिटरमा अण्डरग्राउण्ड र स्तरोन्नति

विद्युत प्राधिकरण प्रदेशिक कार्यालय गण्डकीका प्रमुख केदारराज सिलवालका अनुसार पोखराको २५ किलोमिटर दुरीमा दुईतर्फि अण्डरग्राउन्ड र स्तरोन्नतिको काम हुनेछ । कुँडहर सवस्टेशन देखि पृथ्वी राजमार्ग हुँदै पृथ्वीचोक, एयरपोर्ट हुँदै विरौटासम्म र पृथ्वीचोक, सृजनाचोक र जिरोकिलोमिटर हुँदै हल्लनचोकसम्म विद्युत प्रणाली सुदृणिकरण र सौन्दर्यकरण गर्न लागिएको उनले जानकारी दिए ।

विद्युत वितरण प्रणालीलाई दिगो, भरपर्दो र स्वचालित बनाउन वितरण लाइन भूमिगत गर्न लागिएको उनले जानकारी दिए । यससंगै आयोजनाले पोखराको सहरी सौन्दर्यकरणलाई पनि महत्व दिइएको छ । अहिले नांगो तार र पोलले भद्धा देखिएको सहर भूमिगत वितरण प्रणालीमा जाँदा स्वाभाविकरुपमा सौन्दर्यकरण बढ्ने उनले बताए । यसका साथै उक्त क्षेत्रमा टेलिफोन लगायत अन्य तारहरुलाई समेत भूमिगत बनाउने योजना छ ।

पोखरा महानगरपालिका र विद्युत प्राधिकरणका बीचमा समन्वय गरेर नै यो कार्य सम्पन्न गरिने उनले जानकारी दिए । ‘सहरी सौन्दर्यकरण र विद्युत वितरण प्रणाली, ढल व्यवस्थापन र तारहरुको व्यवस्थापनका कुरा जोडिएका हुन्छन् । यस्ता कुरामा महानगरको समन्वय अनिवार्य छ ’ उनले भने ।

नेपाल प्राधिकरणको सुरुमा ठूला सहरका मुख्य सडकको वितरण लाइनलाई भूमिगत गर्ने तथा भित्री सडकका ओभरहेड लाइनलाई स्तरोन्नति गरेर सञ्चालन गर्ने योजना छ । यसै अनुरुप पोखरा र भरतपुरमा यो आयोजना एक साथ सञ्चालन गरिएको हो ।
यो आयोजना अन्तर्गत भरतपुरमा समेत पोखराकै हाराहारीमा काम हुने पोखरा–भरतपुर विद्युत वितरण प्रणाली सुदृणिकरण आयोजनाका प्रमुख झाले जानकारी दिएका छन् । झाका अनुसार भरतपुरमा १५ किलोमिटर क्षेत्रमा भूमिगत र स्तरोन्नति गरिने भएपनि त्यहाँ र पोखराको लागत एउटै पर्नेछ ।

पोखराको मुख्य सडक र चोकमा विद्युत अन्डरग्राउन्डका लागि छलफल

पोखराको मुख्य सडक र चोकहरुमा विद्युत अन्डरग्राउन्ड गर्न र व्यवस्थित गर्न पोखरा महानगर र नेपाल विद्युत प्राधिकरणका बीचमा छलफल अगाडि बढेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग पोखराका मुख्य सहरी क्षेत्रमा विद्युत अण्डरग्राउन्ड गर्ने र सडक बत्ती व्यवस्थित गर्ने विषयमा कुराकानी भइरहेको मेयर धनराज आचार्यले जानकारी दिए । पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक बत्ती जडान गर्न पोखराको मुख्य सडक र सहरी क्षेत्रमा विद्युत अण्डरग्राउन्ड गरेर सहरी सान्दर्यकरणको छलफल भएको हो । यसलाई अगामि दिनमा छिट्टै बसेर एउटा निचोडमा पुगिने उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले महानगरमा सौर्य बत्तीले नसमेटाका र सम्पूर्ण सहरी सडकहरुमा सडक बत्ती जडान गरी पोखरा महानरलाई उज्यालो बनाउने योजना रहेको बताए ।  पोखरा महानगरपालिका र प्राधिकरण बीचको लागत साझेदारीमा योजना अगाडि बढ्ने उनको भनाई छ ।

सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत प्राधिकरणका बीचमा यस अगाडि नै संझौता भएर पोखरा महानगरकोे तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी समेत गइसकेको उनले जानकारी दिए । सडक बत्ती जडानका लागि सडक सूचि तयार भएको प्राथमिकताका आधारमा शीघ्र जडानको काम अगाडि बढ्ने बताए ।

 

 

 

  • ३० जेष्ठ २०७९, सोमबार १८:१३ प्रकाशित