अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् ।नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे ।

‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता कहिले पनि चुनाव जित्न नसक्ने भए । जसको बलबुता छ । जसको पैसा छ । जो नेताको वरिपरि घुम्छ, उसले टिकट पाउने जित्ने दिन भोलिका दिनमा नआओस् ।’

यो निर्वाचन प्रणालीबाट अन्य दल पनि वाक्क दिक्क भइसकेको प्रचण्डको भनाइ थियो ।

उनले भने, ‘यो निर्वाचन प्रणालीले वाक्क दिक्क भएको महसुस अरु दलले पनि गरेका छन् । हामीले पनि गरेका छौं ।’

प्रचण्डले माओवादी पहिलेको भन्दा ठूलो शक्ति बन्ने हिसाबले चुनावको तयारी गरिरहेको बताएका थिए ।

यस्तै प्रचण्डले केन्द्रीय तहकै नेताहरुका कारण गुट उपगुट केन्द्रीय नेताहरुकै कारण बनेको सुनाएका थिए । ‘गुट उपगुट तपाईंहरु भन्दा पनि केन्द्रीय तहकै नेताहरुबाट तल आएको हो । म माथि नै कन्ट्रोल गर्छु,’ उनको भनाइ थियो ।

आगामी असार १५ मा बस्ने केन्द्रीय समिति बैठकबाट अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने निर्णय हुने प्रचण्डले आश्वासन दिए । ‘अबको केन्द्रीय समितिको बैठकबाट कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ’, उनले भनेका थिए, ‘माफ नै नदिने खालको रहेछ भने कारवाही पनि गरिने छ । यो कुरा नेताहरुले पनि बुझिराख्दा हुन्छ ।’

  • ३० जेष्ठ २०७९, सोमबार १७:३६ प्रकाशित