गण्डकी प्रदेशका ८५ पालिका प्रमुख र उपप्रमुख पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।
बैशाख ३० को निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दुइ दिनसम्म चल्ने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले पोखरामा उद्याटन गरे ।

कार्यक्रमको उद्याटन गदै मुख्यमन्त्री पोखरेलले समृद्ध गण्डकी प्रदेशको सपना साकार पार्न सबै स्थानीय तहलाई मिलेर काम गर्न आग्रह गरेका छन् । प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सके मात्र प्रदेश समृद्धिको अभियान पुरा हुने पोखरेलले बताए । सिमित स्रोत साधनको अधिकतम प्रयोगबाट स्थानीय तहले विकासलाई अगाडी बढाउनुपर्ने पोखरेलको भनाई थियो ।

नेपालमा वित्तीय संघीयता कमजोर रहेको पोखरेलले गुनासो गरे । ७० प्रतिशत बजेट अहिले पनि केन्द्रमा रहने भएका कारण प्रदेश र स्थानीय तह सिमित स्रोतबाट संचालन गर्नुपरेको उनले बताए ।

कार्यक्रममा पहिलो दिन स्थानीय तहको योजना तथा वार्षिक बजेट तर्जुमा प्रकृया र मध्यमकालीन खर्च संरचना, स्थानीइ तहको काम, कतब्यर अधिकार तथा संघ, प्रदेश र स्थनीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहको राजस्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण र  विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड वारे विज्ञले अधिमुखीकरण गर्ने कार्यक्रम छ ।

त्यस्तै, दोस्रो दिन शनिबार विकासका अन्तरसम्बन्धित विषयहरु, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्थापन, सुशासन, सदाचार र भ्रष्टचार नियन्त्रण र स्थानीय सरकारको प्रथम कार्यकालका असल अभ्यास र सकारात्मक सोच वारे अभिमुखीकरण हुने छ ।

कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटा पालिका बाट प्रमुख र उपप्रमुख सहभागी छन् । गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गरेको छ ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १३:१९ प्रकाशित