आँबुखैरेनीमा भासिएको सडक तलपट्टि २ वटा शव र कार भेटियो

केन्द्रभाग मिडिया

File photo

तनहुँ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा भासिएको सडकबाट तलपट्टि दुई वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

भासिएको स्थानबाट तल दुई वटा शव र कार पनि भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।मृतकको पहिचान खुलेको छैन ।प्रहरीले शव र कारलाई निकाल्ने प्रयास गरिरहेको बताएको छ।

सडक भासिँदा कार पनि सँगसँगै खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको जिल्ला प्रहरी तनहुँले जनाएको छ।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

  • २७ जेष्ठ २०७९, शुक्रबार १०:३५ प्रकाशित