अन्तत् इम्बोस्ड लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार : यी तीन किसिमका सवारीले भने जडान गर्नुपर्ने

केन्द्रभाग मिडिया

असार महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

जनतालाई कारबाही गर्ने धम्कीपूर्ण रुपले इम्बोस्ड जडान गर्न भनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

खासगरि गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई तुरुन्तै इम्बोस्ड जडान गर्न भन्दै नगरे सवारी धनीलाई कारबाही हुने यातायात मन्त्रालयले सूचना जारी गरेको थियो । त्यसपश्चात यी दुई प्रदेशका यातायात कार्यालयमा सेवाग्राहीको चाप बढ्दा सास्ती भएको थियो ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएका हुन्।२०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा भने इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ।

महानिर्देशक नमराजका अनुसार जसले २०७८ मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन्, उनीहरूले आगामी साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ। त्यस्तै, २०७८ फागुन १ गतेभन्दा पछाडि पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। र, २०७९ जेठ १ गतेपछि नवीकरणका लागि गएकाहरूले पनि आगामी साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।

  • २४ जेष्ठ २०७९, मंगलवार १७:०० प्रकाशित