पोखराको यातायात कार्यालयको सूचना : तत्कालै सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर दिन सक्दैनौं

केन्द्रभाग मिडिया

पोखरा ।

सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेड जडान गर्न भनेपछि यतिबेला यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड लाग्न थालेको छ ।

थामिनसक्नु भिड लाग्न थालेपछि यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने भन्दै सूचना जारी गरेको छ ।

मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो ।

पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने कार्यालयले जनाएको छ ।

कार्यालयले आफूहरुको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ ।

सरकारले एक महिना समयावधि तोकेर सूचना जारी गरेपछि अहिले कार्यालय परिसरमा सवारी साधनको चाप लागेको छ । ‘साउन १ गतेबाट सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नत्र कारवाही गर्ने भनिएको छ । तर, गण्डकीमा त्यो केही गरी पनि सम्भव नभएको सूचनामा उल्लेख गरिएको छ।

कार्यालयमा दर्ता भएका हाल २ लाख ८६ हजार सवारी साधन छन् । तर, दर्ता गर्न भने दैनिक ५० वटामात्रै ‘सिस्टम’ले दिने कार्यालय प्रमुख डिल्लीराम रिज्यालले बताए ।

  • २४ जेष्ठ २०७९, मंगलवार १६:२१ प्रकाशित