गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

केन्द्रभाग मिडिया

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ ।

२५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिएलगतै दुईजना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्राउ परेका छन् ।

घटना मुल्तानबाट कराँचीतर्फ जाँदै गरेको बहोद्दिन जाकारिया एक्सप्रेस रेलमा घटेको थियो । रेलको सुरक्षा तथा प्रशासन एक नीजि कम्पनीले सम्हाल्ने गरेको हातमा रहेको समाचारहरुमा उल्लेख छ ।

घटना बाहिरिएपछि समाजका विभिन्न तप्काले आक्रोश व्यक्त गरेका छन् । मानवअधिकार संगठन, मिडिया, अभियन्ता लगायत आमजनताले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरेको छ ।बुधबारको सम्पादकीयमा प्रमुख पाकिस्तानी समाचारपत्र डनले घटनालाई ‘ठूलो अपराध’ भन्दै रेलमा उपयुक्त सुरक्षा व्यवस्था नगरेको प्रति प्रश्न उठाएको छ ।

‘कमजोर सुरक्षा व्यवस्थाले आपराधिक मानसिकता भएका पुरुषहरु तिनको कुत्सित मनोकांक्षा पुरा गर्न प्रेरित गराउँछ भन्ने बिर्सनुहुदैन । कुनै पनि समाजको मूल्यको मानक त्यस समयको महिलाको सुरक्षा स्थितिले दर्साउँछ ,’ डनले सम्पादकीयमा लेखेको छ । समाचार साभारः अल जजिराबाट

 

  • १८ जेष्ठ २०७९, बुधबार १६:१४ प्रकाशित