ट्रक व्यवसायी आन्दोलित : जेठ २० देखि ढुवानी रोक्ने चेतावनी

केन्द्रभाग मिडिया

बुटवल ।

सरकारले तोकेको भाडा दर लागु गर्नेपर्ने भन्दै ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

उनीहरु सरकारले तोकेको भाडा दर नपाएको भन्दै ढुवानी सेवा बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले तोकेको भाडा कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने उनीहरुले निर्णय गरेका छन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालनमा छन् ।

सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ । तर उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउँदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

भाडा दर कार्यान्वयन गर्न ट्रक समितिहरुले ट्रकहरुलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेका छन् ।

सरकारले तोकेको भाडा दर नदिने उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई ट्रक नदिने उनीहरुको निर्णय छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य विरेन्द्र यादवले भाडा दर कार्यान्वयनका लागि व्यवसायीले गर्ने आन्दोलनमा महासंघको समर्थन रहेको बताएका छन् ।

  • १७ जेष्ठ २०७९, मंगलवार १६:५२ प्रकाशित