काठमाडौं।
विश्व बजारमा कच्चा तेलको मूल्य फेरि चर्कोदरले वृद्धि भएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको छ ।
डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको छ । रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्ने युरोपेली संघको निर्णयपछि कच्चा तेलको मुल्यमा झनै वृद्धि भएको हो । रुसको तेल प्रतिबन्धकै कारण अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आएको हो ।
युक्रेनमाथि रुसको आक्रमणलाई लिएर यूरोपेली मुलुकले तेलसहित रुसका विभिन्न उत्पादनमा प्रतिबन्ध लगाएका छन् । भारतसहित अन्य मुलुकलाई समेत रुसबाट तेल खरिद नगर्न अमेरिकाले चेतावनी दिँदै आएको छ ।
कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ ।