आईजीपी नियुक्ति मुद्दाको पूर्ण सुनुवाइ आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईजीपी नियुक्ति बारे विवादको मुद्दामा आज पूर्ण सुनुवाई हुने भएको छ ।

वरिष्ठता क्रम मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सो मुद्दामा आज पूर्ण सुनुवाइ हुने भएको हो। यो रिटमा सर्वोच्च अदालतले यसअघि नै अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

१८ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो वरीयतामा रहेका एआईजीलाई छाडेर तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयले आफूलाई अन्याय भएको भन्दै पहिलो वरीयताका एआईजी विश्वराज पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र धिरज प्रताप सिंहलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि आज जेठ १७ गतेलाई पेशी तोकिएको हो ।

  • १७ जेष्ठ २०७९, मंगलवार ०९:१२ प्रकाशित