उडिरहेको विमानकी एअर होस्टेसलाई मुक्का हानी दाँत भाँच्ने महिलालाई जेल सजाय सुनाइएको छ ।
साउथवेस्ट एअरलाइन्सकी एअर होस्टेसलाई दाँत भाँच्ने गरि मुक्का हान्ने क्यालिफोर्नियाकी एक महिलालाई १५ महिना जेल सजाय सुनाइएको हो ।
सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँच सय डलर जरिबाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।
गएको वर्ष मार्च २३ मा साउथवेस्ट एअरलाइन्सको विमानमा सेक्रेमेन्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक जना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगताम्य पार्नुका साथै तीन वटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।