विमान बेपत्ता : खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

खराब मौसमको बाबजुद उड्दा बेपत्ता भएको तारा एयरको जहाज खोजी तीव्र पार्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्र बनाउन मन्त्री खाँणले निर्देशन दिएका हुन् ।कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान झण्डै तीन घण्टा देखि बेपत्ता छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

खराब मौसमको कारण विमान खोजीमा समस्या भएको छ। जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।

  • १५ जेष्ठ २०७९, आईतवार १२:५८ प्रकाशित