गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९‌/८० को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन् ।
प्रदेश गौरवका आयोजना तथा प्रदेशका रणनैतिक महत्वका आयोजनालाई समयमा नै सम्पन्न गर्न स्रोतको व्यवस्थापन गरिने बरलले बताए ।

कोरोना महामारीका कारण विस्थापित हुने अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई सहुलियत हुने गरी लगानीको संरक्षण गर्ने नीतिगत ल्याउने उनले जानकारी दिए । पर्यटन मजदुरलाई पेशामा टिकाई राख्न र प्रवाहित सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन विशेष सहुलियत तथा सुविधाका कार्यक्रम ल्याउने पनि उनले बताए ।

प्रदेशभित्र नै उपलब्ध हुने कच्चा पदार्थ तथा कृषिवस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने लघु, घरेलु, साना र मझौला उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिइने उनले बताए ।

प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानीको सेवा प्रदान गर्न एक घर एक धाराू कार्यक्रमलाई निरन्तरता दिई आगामी वर्षभित्र प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरिने प्रदेश सरकारको लक्ष्य छ ।

आगामी आर्थिक वर्ष उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने गरी कार्याक्रम आउने उनले बताए । प्रदेश सरकारको लगानी साझेदारीमा जलाशययुक्त बुढीगण्डकी र उतरगङ्गा जलविद्युत आयोजना सञ्चालन गर्ने व्यवस्था मिलाइने बरालले जानकारी दिए ।

। उद्योग तथा गार्हस्थ क्षेत्रमा विद्युतको खपत वृद्धि गर्न र एलपी ग्याँसलाई क्रमश् प्रतिस्थापन गर्न विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने नीति लिइने अर्थमन्त्री बरालले प्रदेश सभामा जानकारी दिए ।

बरालले गण्डकी प्रदेशमा सरकारी स्तरबाट मेडिकल कलेज सञ्चालन गर्न शिक्षण अस्पाताल स्थापन गरिने बताए ।
मातृशिशु स्वास्थ्य सेवालाई सुदृढीकरण गदै सडक पहुँच पुगेका स्थानीय तहमा एम्बुलेन्स सञ्चालन गरिने ।

विगतमा सुरुवात गरी कार्य सम्पन्न गर्न बाँकी रहेका एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकलाई अगामी वर्षभित्र सम्पन्न गर्न जोड दिइने, स्थानीय सरकारको साझेदारीमा नगरक्षेत्रभित्रका कच्ची सडकलाई कालोपत्रे गरिने उनले उल्लेख गरे ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिइने, यातायात सेवा प्रवाहमा विद्युतीय भुक्तानी प्रणाली शुरू गरिने, सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रकृयालाई सहज र थप व्यवस्थित बनाइने बरालले बताए । ।

ट्राफिक प्रणाली व्यवस्थित बनाइने, मुख्य मार्ग चोकमा ट्राफिक बत्ती, सिसि क्यामरा व्यवस्था गरिने बरालले बताए ।

खेल्छ गण्डकी सबैका लागि अभियानका साथ गण्डकी प्रदेशबाट खेलकुदका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने र उत्कृष्ट नतिजा हासिल गर्न सक्ने गरी खेलाडीको विकास गरिने, साहसिक खेलको प्रवर्द्धन एवम् प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटनको प्रवर्द्धन गरिने उनले बताए ।

“उद्यमी युवा समृद्ध प्रदेश” निर्माणमा टेवा पु¥याउने कार्यक्रमलाई निरन्तरता दिई युवामा सीप, क्षमता र नेतृत्व विकासमा जोड दिइने अर्थमन्त्री बरलले प्रदेश सभामा जानकारी गराए ।

  • १२ जेष्ठ २०७९, बिहीबार १९:०४ प्रकाशित