पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य निर्वाचित, यस्तो छ आचार्यको राजनीतिक यात्रा

केन्द्रभाग मिडिया

पोखरा ।
भूगोलको हिसावले देशकै सबैभन्दा ठूलो र पर्यटकीय नगर पोखरा महानगरपालिको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत प्राप्त गरे । एकीकृत समाजवादीका आचार्यलाई पाँच दलीय गठबन्धनले साझा उमेदवार बनाएको थियो ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले ६० हजार ५४६ मत प्राप्त गरीन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढि ल्याइन् । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९ प्राप्त गरीन् ।

प्रमुख पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्नका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे । पोखराका ३३ वटा वडामा नेपाली काग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उमेद्वारले वडा अध्यक्ष्मा विजयी भएका छन् ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भए पछि एमालेका उमेद्वार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिएका छन् ।

पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यको राजनीति यात्रा

  •  २०३९ मा आनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति यात्रा सुरु
  •  २०४५ मा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावन विरुद्ध आन्दोलनबाट गिरफ्तार
  • २०४७ मा अनेरास्ववियु जिल्ला कमिटी कास्की अध्यक्ष
  • २०४८ अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष
  • २०४९मा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य  
  • २०५१ मा पृथ्वीनारायण क्याम्पस स्ववियु अध्यक्ष
  • २०५४ मा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य
  • २०६० मा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख
  • २०६९ मा एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष
  • २०७७ मा नेकपा एमाले समानान्तर कमिटी कास्की अध्यक्ष
  • २०७८ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की जिल्ला अध्यक्ष
  • २०७९ मा पोखरा महानगरको मेयरमा निर्वाचित

वि.स.२०२६ साल चैतमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्य सानै उमेरबाटै कास्की जिल्लाबाट राजनीतिमा सक्रिय हुदै हाल पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष रहेका आचार्य एमाले टुक्रिँदा माधव नेपाललाई साथ दिए । आचार्यले कम्युनिस्ट यात्राले चार दशक पूरा गरेका छन् । एमबीए र एमएडसम्म शिक्षा हासिल गरेका आचार्य पोखराका कुशल प्रभावशाली नेता मानिन्छन् ।

२०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका आचार्य क्याम्पस पढ्न पृथ्वीनारायण क्याम्पस छिरेपछि उनको राजनीतिक हिँडाइको गति बढेको हो ।

२०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराबाट उनी अझ सक्रिय भएर कम्युनिस्ट आन्दोलनमा लागेका हुन् । त्यहीँबाट आचार्य राजनीतिमा अझ निखारिए । २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बने ।

विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा धनराज अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष चुनिए । २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बने । त्यही वर्ष उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पृथ्वीनारायण क्याम्पस कोषध्यक्ष बने ।

तीन वर्ष कोषाध्यक्ष बनेका उनी २०५१ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सभापति चुनिएका थिए । स्ववियुको जिम्मेवारी लिइरहँदा २०५० देखि २०५४ सालसम्म संगठनकै पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएका थिए ।

०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावन विरुद्ध आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सूत्रको जिम्मेवारीमा रहेर समेत काम गरेको बुझिन्छ ।

२०६४ देखि २०६९ सम्म नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको फ्रयाक्सन सचिव बनेका थिए । २०६९ देखि २०७४सम्म एमाले सम्बद्ध नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भए ।

त्यहीबीच २०७१ देखि २०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि २०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र २०७५ देखि २०७८ सालसम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य थिए ।

२०७७ सालको अन्तिममा एमालेभित्रको विवादले देशभर समानान्तर गतिविधि भए । सुरुमा कतै नखुलेका आचार्य पछि माधव नेपालले थालेको समानान्तर गतिविधिमा संलग्न भए । २०७७ चैतमा समानान्तर कमिटीको अध्यक्ष बनेका उनी नेकपा (एकीकृत समाजवादी) स्थापनादेखि एमालेबाट अलग भएका हुन् ।

राजनीतिसँगै व्यवसायलाई पनि अघि बढेका उनी व्यवसायमा पनि सफल रहे । पुस्तक पसलबाट व्यवसाय सुरु गरेका आचार्य उनी अहिले प्रकाशन गृह नै चलाइरहेका छन् । २०५१ सालमा स्वयिवु सभापति हुँदा ‘हेल्लो स्टेसनरी’ थियो ।

उनी लायन्स क्लबमा पनि सक्रिय थिए । २०१२/१३ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ को क्याबिनेट सेक्रेटरी, २०१७/२०१८ मा त्यही डिस्ट्रिक्टको गभर्नर भएका थिए ।

४५ देशको भ्रमण गरेका आचार्य स्वर्गीय नेता रवीन्द्र अधिकारीका अत्यान्तै नजिकका साथी थिए । उनी अहिले स्व. रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव छन् । पढाऔं अभियान नेपालका सुत्राधार उनले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौ कार्यपत्र प्रस्तुत गरेका छन् ।

अहिले गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका उनी भूगोलको हिसावले देशकै सबैभन्दा ठूलो र गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।

 

  • ११ जेष्ठ २०७९, बुधबार ०७:१८ प्रकाशित