पोखराको स्थगित मतगणना ८ घण्टा पछि सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा मतगणना पुनः सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थगित मतगणना सुरु गर्ने सहमती भएको जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले सर्वदलीय बैठकमा वडानम्बर २२, ३२ र ३३ को मतगणना गर्ने सहमति भएको जानकारी दिए ।

एमालेको निवेदन कानुन अनुसार कारबाहीको क्रममा रहेको भट्टराईले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन थप कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिवद्ध रहेको भन्दै सूचना समेत जारी गरेको छ ।

विहान ११ बजेबाट खाना खान भन्दै बाहिरिएका एमाले प्रतिनिधि मत गणना स्थल नफर्केपछि मतगणना रोकिएको थियो ।

महानगरको वडा नम्बर १८ मा एमालेका अध्यक्ष पदका उम्मेदवार तीन मतले पराजित भएका थिए । वडानम्बर १८ मा नेपाली कांग्रेसका शिव तिमिल्सिना ३ मतान्तरले विजयी भएका छन् । खसेको मत मध्य ९ मत भेटिएको छैन । ४ हजार ३४८ मत खसेकोमा नेपाली कांग्रेसका तिमिल्सिनाले १ हजार ६४३ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत पाएका छन् ।

पोखरामा औपचारिक घोषणा गरिएको पछिल्लो मत परिणाम अनुसार एक लाख ३८ हजार २११ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ५१ हजार १५८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले ५८ हजार ५८२ मत ल्याएकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेकी छन् ।

पोखरामा वडा नम्बर १८ सहित ३० वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले २२ वटा वडा र नेकपा एमालेले ८ वटा वडामा जितेको छ । पोखरामा एक लाख ४३ हजार १२६ मत खसेकोमा अब पाँच हजार २६८ मत गणना हुन हुन बाँकी छ ।

 

  • १० जेष्ठ २०७९, मंगलवार १९:३६ प्रकाशित