अन्तिम तीन वटा वडाको मत गणना हुँदैगर्दा पोखरामा मतगणना रोकियो

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
पोखरा महानगरको वडा नम्बर १८ मा आफ्नो पार्टीबाट अध्यक्ष पदका उम्मेदवार तीन मतले पराजित भएपछि पुन : मतगणना गर्न नेकपा एमालेले माग गरेको छ । पुन मत गणना गर्न माग गर्दै एमाले आफ्ना मत गणना स्थलमा खटाएका प्रतिनिधि फिर्ता बोलाएपछि अहिले पोखराको मतगणना रोकिएको छ ।

नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले १८ नम्बर वडामा पुन मत गणनाका लागि पार्टीको तर्फबाट प्रमुख निर्वाचन आयोगको कार्यालय पोखरालाई निवेदन पेश गरेको जानकारी दिए । उनले महानगरका मतगणना भइरहेका बाँकी तीन वटा वडामा पनि मत गणना स्थगित गर्न भन्दै प्रतिनिधि बाहिर बोलाएको बताए ।

एमाले महानगर कमिटी अध्यक्ष न्यौपानेले वडा नम्बर १८ मा सूर्य चिन्हमा मत हालिएका ९ वटा मत पत्र कर्मचारीको मिलेमतोमा गायव पारिएको आरोप लगाए । ‘वडा नम्बर १८ मा हाम्रो तर्फबाट अध्यक्षका उम्मदेवार पुस्कलबहादुर थापा तीन मतले पराजित हुनुभयो भनिएको छ । जवकी त्यहाँ नौ–नौ वटा मत गाएव छन् । ति सबै मत सूर्य चिन्हमा छाप हानिएका मत हुन् । कर्मचारीको मिलेमतोमा गायब पारियो भन्ने हाम्रो गम्भिर आसंका छ । त्यहाँ पुन मतगणना नभई अन्यत्रको पनि गणना हुन सक्दैन भनेर हाम्रा प्रतिनिधि बाहिर बोलाएका छौं,’ अध्यक्ष न्यौपानेले भने ।

वडा नम्बर १८ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार शिव तिमिल्सिनाले एक हजार ६४३ र नेकपा एमालेका उम्मदेवार पुस्कल बहादुर थापाले एक हजार ६४० मत ल्याएका छन् । कांग्र्रेसले विजय ¥याली निकालिसकेको छ भने, एमालेका प्रतिनिधिले उक्त नतिजा आफूहरुका लागि स्विकार्य नभएको भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । अहिले एमालेका प्रतिनिधिले मतगणना छोडेर बाहिरिएका छन् ।

पोखरामा पछिल्लो मत परिणाम अनुसार एक लाख ३८ हजार २११ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ५१ हजार १५८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले ५८ हजार ५८२ मत ल्याएकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेकी छन् । पोखरामा एक लाख ४३ हजार १२६ मत खसेकोमा अब पाँच हजार २६८ मतको परिणाम सार्वजनिक हुन बाँकी छ । २२, ३२ र ३३ नम्बर वडाको मत गणना रोकिएको हो ।

  • १० जेष्ठ २०७९, मंगलवार १४:०६ प्रकाशित