७५३ वटै स्थानीय तहका २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

केन्द्रभाग मिडिया

पोखरा ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएपछि बनेको नयाँ संविधान अनुरुपको संरचना अन्तर्गत निर्माण भएको स्थानीय तहमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज (बिहीबार राति १२ बजेबाट) समाप्त हुँदैछ । २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आज सकिन लागेको हो।

संविधानको धारा २१५ को उपधारा ६ मा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था र धारा २१६ को उपधारा ६ मा रहेको नगरपालिकाको प्रमुख,उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्थाअनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधि बिदा हुने छन् ।

निर्वाचन आयोगका अनुसार विहिबार बिहानसम्म ५ सय ३९ स्थानीय तहको मत परिणाम आइसकेको छ । यसबाहेकका पालिकामा भने मतगणना जारी छ । आयोगका अनुसार आजसम्म ९० प्रतिशत मतगणना सक्ने तयारीअनुसार मतगणना भइरहेको छ ।

२०७४ मा भएको स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। २०७४ वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा निर्वाचन भएको थियो । आयोगले ३० वैशाखमा एकै चरणमा निर्वाचन घोषणा गरेपछि जनप्रतिनिधिको कार्यकालको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

यसविरुद्ध हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतले एकै चरणमा निर्वाचन गर्दा जनप्रतिनिधिको कार्यकाल पूरा नहुने भन्दै निर्वाचन रोक्न माग गरेका थिए। तर, सर्वोच्चले निवेदकको मागबमोजिम निर्वाचन रोक्न आदेश दिन अस्वीकार गरेको थियो ।

  • ५ जेष्ठ २०७९, बिहीबार ०७:४७ प्रकाशित