संघीय र दुई प्रदेश राजधानीमा ‘लालकिल्ला’ गुमाउँदै एमाले (यस्ता छन् कारण)

केन्द्रभाग मिडिया

पार्टी विभाजनको सन्देश, यस अगाडिको नेतृत्वले काम गर्न नसकेको यथार्थको प्रभाव, गठबन्धन,  आफैभित्रको गुटबन्दी र धेरैपटक परीक्षण भइसकेका पात्रलाई पुन : अगाडि सार्दा एमालेले आफ्नो लालकिल्ला गुमाउने संघारमा देखिएको हो । 

पोखरा ।

संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको राजधानी हेटौंडालाई विगत देखि नेकपा एमालेको ‘लाल किल्ला’को रुपमा लिने गरिएको छ । स्थानीय तह निर्वाचन २०७९ मत परिणाम बाहिरिँदै गर्दा एमालेले काठमाडौं महानगर, पोखरा महानगर र हेटौंडा उपमहानगरमा आफ्नो ‘लाल किल्ला’ गुमाउने देखिएको छ ।

संघीय राजधानी रहेको काठमाडौं महानगरमा २०५४ मै एमालेबाट महानगरको नेतृत्व गरेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह भन्दा निकै मत अन्तरले पछाडी छन् । जसका कारण यस अघि २०७४ को निर्वाचनमा ठूलो मतान्तरले विजयी भएको एमाले संघीय राजधानीमै हारको संघारमा देखिन्छ ।

पार्टी विभाजनको सन्देश, यस अगाडिको नेतृत्वले काम गर्न नसकेको यथार्थको प्रभाव र धेरैपटक परीक्षण भइसकेका पात्रलाई पुन अगाडि सार्दा एमालेले आफ्नो लाल किल्लाको रुपमा रहेको काठमाडौं गुमाउने संघारमा देखिएको हो । त्यहाँ गठबन्धन दलका उम्मेदवार एमाले उम्मेदवार स्थापित भन्दा पनि कमजोर देखिए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पनि एमालेले आफ्नो किल्ला जोगाउने देखिएको छैन । पोखरामा एमालेबाट नै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार एमालेका उम्मेदवार कृष्ण थापा र स्वयम एमालेका लागि भारी भएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलको साथ पाएका एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले मत गणनाको सुरु देखि नै आफ्नो अग्रतालाई कायम मात्र राखिरहेका छैनन्, मत अन्तर पनि बढाउँदै लगेका छन् । पोखरामा पनि एमालेले काठमाडौंमा जस्तै २०५४ सालमा नेतृत्व गरिसकेका र विभिन्न समयमा परीक्षण भइसकेका पात्रलाई अगाडि सा¥यो ।

पार्टी विभाजनको असर र २०७४ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले केही उल्लेखनीय काम गर्न नसकेका कारणपनि एमाले पोखरामा पराजयको यात्रामा देखिएको छ । यहाँ एमाले विभाजन, सत्ता गठबन्धन र आफ्ना प्रतिनिधिले विगतमा काम गर्न नसक्नुका साथै एमाले भित्रको गुटगत प्रतिस्पर्धा अझ पेचिलो बन्दा लाल किल्ला बनेको पोखरा गुम्ने झण्डै निस्चित बनेको हो ।

सुरुमा अगाडि सारेका दीपक पौडेललाई सुन चोरेको भनिएको भिडियो सार्वजनिक गर्दै अपमानजनक ढंगले फिर्ता गर्नु र टेस्टेड उम्मेदवार थापालाई अगाडि सार्नु एमालेका लागि प्रतिउत्पादक बन्न पुग्यो । यसैभित्र एमालेका दुई गुट खेल्ने क्रम पोखरामा अझै रोकिएको छैन । निर्वाचन अगाडि सुनचोरी भनिएको भिडियो सार्वजनिक र निर्वाचनमा मत परिणाम सार्वजनिक हुँदैगर्दा क्रमस सार्वजनिक अडियोहरुले एमालेको आगामी दिनलाई समेत त्यति राम्रो संकेत गरेको देखिन्न ।

यि कामको नेतृत्व स्वयम एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र एमाले स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरिरहेको एमाले नेता कार्यकर्ताको प्रष्ट बुझाई छ । जसका कारण एमालेले पोखरा मात्र होइन । यसको प्रभाव संघीय निर्वाचनमा स्वयम खगराज र पृथ्वीसुब्बाले भोग्नुपर्ने चेतावनी एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालमा दिइसकेका छन् ।

नेकपा एमालेले संघीय राजधानी रहेको काठमाडौं र गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगर मात्र होइन बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर पनि गुमाउने भएको छ । नेकपा एमाले र उसले अगाडि सारेका उम्मेदवार अनन्त पौडेल हेटौंडामा आफ्नै दल विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामासंग नभई राप्रापाको मेयर उम्मेदवार दीपकबहादुर सिंह    भन्दापनि निकै तल छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय अनन्त पहिलो र दोस्रो संविधानसभामा समेत उम्मेदवार थिए । दोस्रो संविधानसभामा हाल राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पराजित गर्दै एमालेबाट उनी निर्वाचित भएका थिए ।

पौडेल हेटौंडामा प्रतिस्पर्धामै उक्लिन नसकिरहेको अवस्थामा एमालेका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् । उनीहरुले कार्यकर्ताको मनोभावना बेवास्ता गर्दै पार्टी नेतृत्व एकलौटीरुपमा अगाडि बढ्न खोज्दा यस्तो परिणाम देखिएको बताइरहेका छन् ।

अहिले हेटौंडामा सत्तारुढ गठबन्धन एउटा कित्तामा रहेका छन् । राप्रपा एक्लै छ । एमालेलाई राप्रपा नेपालको साथ छ । हेटौंडा राप्रपा नेपाल कमल थापाको गृह जिल्ला पनि हो । यस्तो अवस्थामा एमाले प्रतिस्पर्धामा नै उत्रिन नसक्नु हेटौंडाको लागि मात्रै होइन समग्र एमालेकै लागि अनपेक्षित छ ।

विशेषगरी टिकट वितरण र पार्टी फुटको असरलाई नजरअन्दाज गर्दा हालको अवस्था सिर्जना भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपा एमाले विभाजन भयो । उक्त समयमा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र केन्द्रीय नेता विरोध खतिवडा नेकपा एकीकृत समाजवादी तर्फ लागे ।

हेटौंडाकी उपमेयर पनि एकीकृत समाजवादी तर्फ नै लागिन । उनी अहिले गठबन्धनबाट मेयरकी उम्मेदवार छिन् । तिनै लामा अहिले एमालेको लागि टाउको दुखाई बनिरहेकी छिन् ।

 

 

 

  • ४ जेष्ठ २०७९, बुधबार ०९:३३ प्रकाशित