पोखराको मेयरमा धनराजलाई ८०२ मतको अग्रता

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य ८ सय २ मतले अगाडि छन् ।

सोमबार राति १० बजेसम्मको मतगणनामा आचार्यले ६ हजार २ सय ४० ल्याउँदै अग्रता फराकिलो पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

राप्रपाका शंकर खरालले ६ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३५३ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६ हजार २ सय ८३ मतसहित अग्रता कायम राखेकी छन् । उनलाई एमालेकी मञ्जु गुरुङले ६ हजार २ सय ४ मत सहित पछ्याएकी छन् । रानाभाट ७९ मतले अगाडि छन् ।

अहिलेसम्म पोखरा वडा नम्बर ४, १३, २३, २४ र २५ को मत गणना जारी छ । वडा नम्बर १, २, ३ र १२ को परिणाम आइसकेको छ । हालसम्म यि वडासहित १५ हजार १ सय ५० मतगणना भएको छ ।

  • २ जेष्ठ २०७९, सोमबार २२:५४ प्रकाशित