काठमाडौं ।
स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ ।
आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।आज मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक लगाइन्छ ।
यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । सरकारले आजै मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमा नाका बन्द गर्ने भएको छ ।
के गर्न पाईदैन ?
मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।
आयोगले सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाएरनहटाएको तथा नयाँ प्रचार सामग्री राखेरनराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।
आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।
मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।