काठमाडौं ।
युरोप पठाइदिन्छु भन्दै करोडौं रकम ठगेको पाइएको छ ।
आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने ७ करोड ठग्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि, जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालि र सदीक्षा गुरुङविरुद्ध बिगो र हर्जानासहित ७ करोड १७ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।
जिनियसले पोर्चुगल, स्पेन र फ्रान्ससहित युरोपका विभिन्न देश जाने २२ जना व्यक्तिसँग दुई करोड ८८ लाख ४१ हजार रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । त्यसमा थप एक करोड ४३ लाख रुपैयाँ हर्जाना लगाएर चार करोड ७ लाख २३ हजार रुपैयाँको मुद्दा दायरा गरिएको छ ।
यस मुद्दामा विभागले जिनियसका सञ्चालक बुटवलका सुजन भट्टराई, नयाँ बसपार्कमा होटल सञ्चालन गरी बस्ने काठमाडौं टोखाका ५० वर्षीय मेखबहादुर गुरुङ र ठेगाना नखुलेका सुनील लम्सालविरुद्ध मुद्दा दायरा गरेको छ ।
माल्टा पठाउने भन्दै १ सय २२ जना व्यक्तिसँग एक करोड ६४ लाख रुपैयाँ ठगी गरेको आरोपमा इन्टरनेसनल एन्ड एक्स्पो एन्ड ट्राभल सर्भिसविरुद्ध पनि मुद्दा दायरा भएको छ ।
विभागले कास्कीकी ३१ वर्षीया सदीक्षा गुरुङ र ६२ वर्षीया खिनशोभा गुरुङविरुद्ध पनि २० लाख ७१ हजार रुपैयाँ हर्जानासहित ६२ लाख ७३ हजार रुपैयाँ मागदाबीको अर्को मुद्दा पनि चलाएको छ । खिनशोभा र सदीक्षा आमाछोरी हुन् । उनीहरूले कुमार गुरुङसँग क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ४२ हजार रुपैयाँ लिएको पुष्टि भएको विभागले जनाएको छ । विभागले सदीक्षालाई पक्राउ गरिसकेको छ ।