अफगानिस्तानमा चरम भोकमरी देखिएको छ। खाद्य सङ्कटका कारण दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीको चपेटामा परेका छन्।
त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी रहेको हो। करिब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ।
गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ। अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ।
मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६,१३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ।