अपडेट : विमानस्थलमा बम राखेको भन्दै ब्लफ् कल गर्नेबारे अनुसन्धान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको छ भन्दै फोन गर्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

आज बिहान विमानस्थलको टेलिफोनमा ९: ४० बजे आन्तरिक टर्मिनलमा सात वटा बम राखिएको भनि गलत सुचना दिदैं फोन गर्ने व्यक्तिबारे अनुसन्धान सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।

विमानस्थल परिसरमा बम राखिएको सूचनासहित टर्मिनल ड्युटी अफिसरलाई दुई वटा अपरिचित नम्बरबाट कल आएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुईपटक फोन आएपछि तत्काल ड्यूटी अफिसरले विमानस्थल प्रशासनलाई जानकारी गराएका थिए । प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई जानकारी गरायो ।

तत्काल तालिम प्राप्त कुकुर र नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर सर्च अपरेशन चलाएकोमा विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु नभेटिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

बम राखेको खबर आएपछि विमानस्थल प्रशासनले टर्मिनलका यात्रु र कर्मचारीलाई बाहिर निकालेर खर्च अपरेशन चलाएको थियो ।

कुनै शंकास्पद वस्तु नभेटिएपछि अहिले नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा गलत सूचना दिने व्यक्तिबारे अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रारम्भिक जाँचमा विमानस्थलको फोनमा एक मोबाइल एप्लिकेशन प्रयोग गरेर अष्ट्रेलिया र मलेसियाको नम्बर देखिने गरी फोन गरिएको थियो । कसले त्यसरी फोन गर्‍यो भन्ने विषयमा छानबिन जारी रहेको छ ।

  • २१ बैशाख २०७९, बुधबार १४:१८ प्रकाशित