पोखरामा गठबन्धनका साझा उम्मेदवार तालिकासहित घरदैलोमा, (यस्तो छ तालिका)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा सत्ता गठबन्धन दलहरुले आइतबार देखि औपचारिक रुपमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

तालिका बनाएरै चुनावी सभा तथा घरदैलो  अभियानमा गठबन्धन उत्रिएको नेकपा माओवादी केन्द्र पोखराका अध्यक्ष हरिनाराण गिरी (विज्ञान)ले जानकारी दिए । अभियान अन्तर्गत आइतबार बिहान गठबधनका तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटले वडा नम्बर २५ बाट चुनावी सभा तथा घरदैलो कार्यक्रम  आरम्भ गरेका छन् ।

गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार आचार्यले आफूहरु जनताको सेवा र पोखराको समृद्धिका लागि निर्वाचनमा होमिएको बताए । पोखराको विकासको स्पष्ट मार्गचित्र आफूहरुसंग रहेको र त्यो योजनालाई इमान्दारी पूर्वक कार्यान्वयनमा लैजाने संकल्प उनले गरे ।

उपमेयर पदकी उम्मेदवार कोपला रानाभाटले गठबन्धन अहिलेको आवश्यकता रहेको बताइन् । ‘यो गठबन्धन अहिलेको आवश्यकता हो । हिजो व्यवस्था जोगाउन र परिवर्त ल्याउन यसरी नै मिलेर काम गरेका दलहरु हौं । अहिले संविधानको रक्षाका लागि र परिवर्तनलाई संस्थागत गर्न गठबन्धन बनेको कुरा सबैले बुझ्नुभएकै छ’ उनले भनिन् ।

त्यसैगरी आइतबार पोखरामा गठबन्धनको तर्फबाट दिउँसो उम्मेदवार परिचय कार्यक्रम भएको छ । उक्त कार्यक्रममा मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताए । उनले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताए । ‘पोखरा बनाउन चार कुरा चाहिन्छ,’ उनले भने, प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ पोखरा बिगार्ने छुट कसैलाई छैन ।’ मेयर पदका उम्मेदवार आचार्यले सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै बस्नेहरु छन् यहाँ हाम्रा प्रतिष्पर्धीहरु । तर हामी बनाउने योजना र कार्यान्वयन गर्ने आधार बनाएर आएका छौं । एकपटक विश्वास गरेर मतदान गरिदिनुस् ।’

उम्मेदवार आचार्यले गठबन्धनलाई मजबुत बनाउन पोखराका सबै वडामा साझा उम्मेदवार चयन गर्नुपर्ने बताए । त्यसका दलहरुलाई आग्रह गर्दै उनले भने ,वैशाख २० गतेसम्ममा साझा उम्मेदवार चयन गरौं, त्यसले एकताको सन्देश दिन्छ । त्यसो भयो भने हामी सजिलै जित्छौं ।’

कार्यक्रममा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनले जितेन भने फेरीपनि संविधान, लोकतन्त्र, राष्ट्रियता खतरामा पर्ने भन्दै त्यसको संरक्षणका लागिपनि गठबन्धनले जित्नुपर्ने धारणा राखिन् । मेयर पदका उम्मेदवार र आफू निस्कलंक रहेको भन्दै उनले पोखरा र पोखरेलीका लागि आफूहरुले विकास र समृद्धि दिने बताइन् । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गठबन्धनका उम्मेदवारलाई हार्ने छुट नरहेको बताए ।

आइतबार साँझ लेकसाइडमा चुनावी सभा तथा घरदैलो कार्यक्रम गरेका गठबन्धन दलका मेयर र उपमेयर पदका उम्मेदवार धनराज आचार्य, उपमेयरका उम्मेदवार कोपिला रानाभाट र गठबन्धन आवद्ध दलका पोखरा ३३का वडाध्यक्ष र सदस्यसहितका उम्मेदवार नेताहरुसहित सोमबार बिहानै देखि पोखरा ३३मा चुनावी सभा तथा घरदैलो कार्यक्रममा छन् ।

सोमबार दिउँसो पोखरा २१मा घर दैलो तथा चुनावी सभा कार्यक्रम रहेको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।
 पोखरा महानगरमा गठबन्धन दलका उम्मेदवारको घरदैलो कार्यक्रम तालिका  हेर्न क्लिक गर्नुहोस    

  • १९ बैशाख २०७९, सोमबार ०७:३२ प्रकाशित