काठमाडौं ।
सरकारले प्रहरी महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेपछि जेष्ठताको आधारमा अघि रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा न्यायका लागि सर्वोच्च अदालत जाने भएका छन् ।
सिनियरलाई पन्छाएर एक महिनाअघि मात्र बढुवा भएका सिंहलाई आईजीपीमा नियुक्त गरेपछि पोखरेल र थापाले न्यायका लागि अदालत जाने बताएका हुन् ।
त्यसका लागि आफूहरु कानुनी परामर्शमा रहेको उनीहरुले बताए । एआईजी पोखरेलले नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्दा इतिहासमै यस्तो अन्याय कहिल्यै नभएको बताए ।
‘नेपाल प्रहरीको आईजीपी नियुक्तिमा यति ठूलो अन्याय इतिहासमै कहिले पनि भएको थिएन, एकै मितिका प्रतिस्पर्धीमध्येबाट नियुक्ति गर्दा पनि पहिलो वरियतालाई गरिन्थ्यो, अहिले त १८ महिना र १० महिना सिनियरलाई पन्छाएर एक महिना अघि बढुवा भएकालाई नेतृत्वमा लगियो,’ एआईजी पोखरेलले भने, ‘आईजीपीमा बढुवा भएका व्यक्ति एआईजी बढुवा विरुद्धको मुद्दा खेपिरहेका व्यक्तिलाई आईजीपी नियुक्ति गरेर सरकारले प्रहरी संगठनमाथि प्रहार गरेको छ, यस विरुद्ध न्यायका लागि सम्मानित अदालत जान्छौं ।’