काठमाडौं।
विमानको ट्वाइलेटमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जना पक्राउ परेका छन् ।
विमानमा सरसफाई गर्ने कर्मचारीको संलग्नतामा सुनको ओसार पसार गर्ने ती पाँच जना दुई किलो सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिकाका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिकाका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिबाट विमानमा सरसफाई गर्ने सुपरभाइजर सप्तरी सुरुंगा नगरपालिकाका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिकाका २८ वर्षीय भीमकुमार माबो रहेका छन् ।
बिहीबार दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई कम्पनीका सरसफाई कर्मचारी माबोले शौचालयभित्रको फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर निकालेका थिए ।
फोहोरभित्रको सुन अर्का सहकर्मी सुमन तामाङसँग मिलेर निकालेका थिए। दुईजनाले सुन बाँडेर आ(आफ्नो पर्सभित्र लुकाएका थिए।विमानस्थलको फलामे गेट भएर उनीहरु बाहिर निस्किन खोजेका उनीहरुको सामान स्क्यानिङ गर्ने क्रममा भीमकुमार माबोले बोकेर आएको पर्सभित्र टेपले बेरिएको सुन जफत भएको हो।
पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको प्रहरीले जानकारी दिएको छ।