जेरुसेलम ।
इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटलाई ज्यान मार्ने धम्की आएको छ ।
इजरायली प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारलाई ज्यान मार्ने धम्की दिइएको पत्र पठाएको तथ्य सार्वजनिक गरेको हो । धम्की पत्रमा एउटा गोली समेत राखेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलबार यस समबन्धमा विशेष अपराध विभाग र आन्तरिक सुरक्षा निकाय सिन बेटले अनुसनधान सुरु गरिसकेको बताएको छ ।प्रधानमन्त्रीको कार्यालयले सो पत्रपछि बेन्नटको परिवारलाई थप सुरक्षा प्रदान गरिएको जनाएको छ ।
धम्की आएपछि बेन्नेटले ट्विटरमा लेखेका छन्, “राजनीतिक द्वन्द्व जतिसुकै गहिरो भएपनि त्यसलाई हिंसा, अपराधको रूप दिएर ज्यान मार्ने सम्मको धम्की दिइनु हुँदैन । म प्रधानमन्त्री र राजनीतिज्ञ हुँ । यसको साथै म पति र पिता पनि हुँ, मेरा पत्नी र सन्तानको सुरक्षा गर्नु मेरो कर्तव्य हो । हामीले राजनीतिक छलफलको आगोलाई शान्त पार्नुपर्दछ ।”