अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् ।
बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताएको बीबीसीले जनाएको छ ।
बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको प्रयत्न गर्ने उनले बताए ।
यसैबीच रुसी सेनाले आफ्नो हवाई क्षेत्रमा उपस्थिति बढाएको युक्रेनको वायु सेनाले बताएको छ । युक्रेनी सेनाले विज्ञप्ति निकालेर युक्रेनको आकाशमा मानवरहित हवाई यानका साथै बमबर्षक र लडाकु विमानको सङ्ख्या बढेकोले जुनसुकै बेला बस्तीहरुमा बमवारी हुनसक्ने भन्दै सचेत रहन अपिल गरेको छ।