मंसिर ५ र ६ गते हेमजामा साहित्य महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा ।

हेमजामा मंसिर ५ र ६ गते दोस्रो ‘हेमजा साहित्य महोत्सव’ हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा–२५ हेमजामा साहित्य महोत्सव हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमाफर्त जानकारी दिइएको हो ।

महोत्सवको पहिलो दिन मङ्सिर ५ गते उद्घाटन शत्र चल्नेछ । उद्घाटन शत्र सकिएलगत्तै ‘कविता : अनुभूति र अभिव्यक्ति’ कार्यक्रमबाट साहित्यक महोत्सवको रौनकता शुरु हुने आयोजकले जनाएको छ ।

त्यसपछि ‘काव्यनगरी हेमजा ः साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली : लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा साहित्यिक मन्थन हुने महासचिव कोविदशरण उपाध्यायले जानकारी दिए ।

दोस्रो दिन ‘मढीमा सिर्जना ः काव्यनगरी दर्शन’ कार्यक्रमबाट साहित्य महोत्सवले निरन्तरता पाउनेछ । त्यसपछि कविता हुँदै आख्यान र गैरआख्यानसम्मको साहित्यिक विमर्श हुने महासचिव उपाध्यायले जानकारी दिए ।

सो दिन मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन र गजल वाचन पनि हुने उनले बताए । कार्यक्रममा रामजीप्रसाद आचार्यको चोटिलो मुक्तक, काव्यिक व्यक्तित्व शिव त्रिपाठीको कविता, कल्याण पन्तको लघुकथा र आवाज शर्माको गजल वाचनमा दर्शक रमाउन पाउने उनको भनाई छ ।

दोस्रो दिन अपराह्न ३ बजे महोत्सव समापन गर्ने तालिका रहेको पनि आयोजकले जनाएको छ ।

यसैबीच, साहित्यिक महोत्सवको उद्घाटन शत्रमा कवि एवम् भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।

हेमजामा जन्मिएर साहित्य र भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका उपाध्यायलाई उनको योगदानको उच्च कदर गर्दै अभिनन्दन ग्रन्थ अर्पण गर्न लागिएको उनले प्रष्ट्याए ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवर्धनसँगै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष गायकले बताए ।

  • ३० कार्तिक २०८३, सोमबार १६:३७ प्रकाशित