कामु प्रधानन्यायाधीश कार्कीले बोलाए सर्वोच्चको फूलकोर्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भई निलम्बनमा परेको भोलिपल्टै आज सर्वोच्चको फूलकोर्ट बस्दैँछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।

कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ ।

न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नभएसम्म नेपाल बार एसोसिएसनले आन्दोलन जारी राख्ने बताइसकेको छ ।

  • २ फाल्गुन २०७८, सोमबार १२:३९ प्रकाशित