काठमाडौं ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् ।
उनीहरूले प्रहरीका अवरोध तोड्दै सहरका विभिन्न सडकमा जुलुस निकालेका थिए । प्रदर्शनका क्रममा प्रहरीको सशस्त्र गाडी, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुर्याइएको छ ।
बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारीले गोपालगञ्ज सहरमा रहेको जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरको हादी चोकको नामपट्टिकासमेत तोडफोड गरेका छन् ।
केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नाम राखिएको छ । प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए ।
प्रदर्शनमा सहभागी कतिपयले खुकुरी, भाला, बन्चरो, लाठी र डुंगा चलाउन प्रयोग गरिने काठका डाँडाजस्ता स्थानीय हतियार बोकेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए ।













