पोखरा ।
तिहारको अवसरमा पृथ्वी होटल व्यवसायी समिति पोखराले शनिबार मौलिक देउसीभैलो कार्यक्रम–२०८३ गरेको छ । परम्परागत रूपमा खेलिँदै आएको मौलिक देउसी भैलोलाई प्रस्तुत गर्दै समितिले लोकसंस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देस्यले देउसीभैलो कार्यक्रम गरिएको हो ।
शनिबार साँझ पोखरास्थित बाजेको सेकुवा हलमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको कार्यक्रमको उद्घाटन गर्दै समितिका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सल्लाहकार, संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक स्वागत गरे ।
उनले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पहिलोपटक कलाकारहरूको प्रत्यक्ष प्रस्तुतिसहित सामूहिक देउसी भैलो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गायक तथा कलाकारहरू श्याम राना, दिलु मगर, शिवहरि ढुंगानालगायत स्थानीय कलाकारहरूले मौलिक देउसी भैलो, झ्याउरे गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो ।
कार्यक्रममा मिनबहादुर शेरचन स्टोरका सञ्चालक दीपक शेरचनलाई दोसल्ला ओढाएर विशेष सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अतिथि, कलाकार, संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूका लागि विशेष रात्रिभोजसहित खानपिनको व्यवस्था गरिएको थियो । सांस्कृतिक प्रस्तुति, आपसी भेटघाट र सामूहिक रात्रिभोजका साथ कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको पृथ्वी होटल व्यवसायी समितिका महासचिव सोभाकान्त चापागाइँले जानकारी दिए ।
मौलिक लोकसंस्कृति र परम्परालाई संरक्षण गर्दै पोखराको पर्यटन तथा सांस्कृतिक पहिचानलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले यहाँको मौलिक कला, संस्कृति र परम्परालाई पोखरामा चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको कार्यक्रम संयोजक विदुर ढुंगानाले बताए













