सुर्खेत ।
जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । कैदीबन्दी र थुनुवा गरेर १७ रहेको कारागारबाट ८ जना सुरुङ खनेर फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनय सिंहले जानकारी दिए ।
फरार हुनेमा ६ जना कैदी र २ जना थुनुवा हुन् । उनीहरु करिव ८ मिटरको सुरुङ खनेर फरार भएको पाइएको उनले बताए । राति पानी परिरहेको र विहान मात्र ड्युटी परिवर्तनको क्रममा सुरुङ खनेर फरार रहेको पाइएको निरीक्षक सिंहले बताए ।
उनका अनुसार कारागारमा रहेका दुई वटा ब्लक मध्य एउटा ब्लकमा रहेका सबैजना सुरुङ खनेर फरार भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान थालिएको छ । ‘राति पानी परिरहेको थियो । कति बेला सुरुङ खनेर फरार भए भन्ने नै एकिन भएन । विहान ड्युटी परिवर्तनको बेला मात्र जानकारी भएपछि जिल्ला डीएसपी साबलाई जहेर भयो ।’ उनले भने ।













