चक्रवात ‘अर्नब’ को प्रभाव : विपत्ति र जोखिमको सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव देशभर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार) विहान देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ ।

  • १४ कार्तिक २०८३, शनिबार ०८:४३ प्रकाशित