अर्नव चक्रवातको प्रभाव : तीन दिन पदयात्रामा ननिस्कन, खोला तथा नदी किनारमा नजान जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि तीन दिन पदयात्रामा ननिस्कन, खोला तथा नदी किनारमा नजान आग्रह गरेको छ ।

बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्नव चक्रवात’ को अवशेष उत्तरतर्फ सर्ने क्रममा रहेकाले कास्की जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै कास्की प्रशासनले सो आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कार्तिक १२ गते आज बिहीबारदेखि १४ गते शनिबारसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो।

अविरल वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्ने, आकस्मिक बाढी तथा भेल आउने, नदी र खोला आसपासका क्षेत्रमा पहिरो जाने, सडक भासिने तथा नदी र खोलाको किनार कटान हुने जोखिम रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमबाट जोगिन नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने कार्य नगर्न आग्रह गरेको छ। बाढीले बगाएर ल्याएका सामग्री संकलन गर्नसमेत नदी तथा खोला किनारमा नजान अनुरोध गरिएको छ।

त्यस्तै, नदी तथा खोला किनारमा गाईवस्तु चराउन वा पानी खुवाउन नजान, भलिबल, फुटबल, क्रिकेटलगायत बाहिर खेलिने खेल नखेल्न र अभिभावकले आफ्ना बालबालिकालाई जोखिमयुक्त स्थानमा जानबाट रोक्न सूचनामार्फत आग्रह गरिएको छ।

नदी तथा खोला किनारा र होचो भूभागमा बसोबास गर्ने बासिन्दालाई पानीको बहाव निरन्तर निगरानी गर्न तथा जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा जान भनिएको छ। सवारी चालकलाई नदी तथा खोला किनारका सडक र बगर क्षेत्रमा सवारीसाधन नरोक्न तथा पार्किङ नगर्न पनि अनुरोध गरिएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा राजमार्ग तथा सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र निस्कन आग्रह गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पदयात्रामा ननिस्कन तथा पदयात्रामा रहेका पर्यटकलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ। साथै, नेपाल मौसम विज्ञान विभागबाट जारी हुने पूर्वानुमान तथा चेतावनी नियमित रूपमा जानकारी लिन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले बाढी वा अन्य विपद्को आकस्मिक अवस्था आएमा नजिकको प्रहरी कार्यालय, निःशुल्क आपत्कालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

नेपाल मौसम विज्ञान विभागको मौसमी बुलेटिनका आधारमा जारी सूचनाअनुसार उक्त अवधिमा कास्की र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात हुने र हिमपहिरोको जोखिमसमेत रहेको छ।

  • १२ कार्तिक २०८३, बिहीबार १०:२२ प्रकाशित