स्याङ्जाको फेदीखोलामा १३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ खड्केटारीबाट प्रहरीले १३० लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । जिल्लामा अवैध घरेलु मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्ने उद्देश्यले खटिएको प्रहरी टोलीले मंगलबार चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा र कच्चा पदार्थ फेला पारेको हो ।

प्रहरी चौकी फेदीखोला, स्याङ्जाबाट खटिएको टोलीले मंगलबार खड्केटारी क्षेत्रमा चेकजाँच गर्ने क्रममा घरेलु मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको थियो । बरामद गरिएको मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घरेलु मदिराको अनियन्त्रित उत्पादन तथा बिक्रीवितरणले जनस्वास्थ्यमा असर पार्नुका साथै सामाजिक विकृति र शान्तिसुरक्षामा समेत समस्या निम्त्याउन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी तथा चेकजाँच गर्दै आएको छ । स्थानीय क्षेत्रमा अवैध मदिराको उत्पादन, भण्डारण तथा बिक्रीवितरण रोक्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

प्रहरीले घरेलु मदिराको अवैध उत्पादन तथा बिक्रीवितरणसम्बन्धी गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।

  • २७ आश्विन २०८३, मंगलवार १५:२८ प्रकाशित