विश्वकप लिग–२ : नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली ओमानसामु नेपालले २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा रोहित पौडेलले अर्धशतक र करण केसीङको विस्फोटक व्यटिङको मद्दतमा ८ विकेटको क्षतिमा २६३ रन बनाएको हो ।

रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । क्यानडाविरुद्धको अघिल्लो खेलमा शतक बनाएका रोहितले ओमानविरुद्ध पनि जिम्मेवार इनिङ्स खेले ।

नेपालको योगफल उकास्ने क्रममा करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गरे । सातौँ क्रममा क्रिजमा आएका उनले केवल १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए । इनिङ्सको अन्तिम बलमा रनआउट हुनुअघि करणले ओमानका हस्नैन शाहविरुद्ध ४९औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए ।

त्यसअघि अर्जुन कुमालले ५९ बलमा ४० रन बनाए । इर्शान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे ।
ओमानका बलरमध्ये शकील अहमद, करण सोनावाले र शाह फैसलले समान दुई विकेट लिए । हस्नैन शाहले एक विकेट हात पारे ।

  • २७ आश्विन २०८३, मंगलवार १५:१६ प्रकाशित