काठमाडौं ।
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उनलाई नजिकैको कीर्तिपुर बर्न अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए । उनको अस्पताल लैजाने क्रममा नै निधन भएको हो । पौडेललाई हृदयघात भएको आशंका गरिएको छ ।
पूर्व सांसद समेत रहेका उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।
डा. विजय पुराना कम्युनिष्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन् । उनका श्रीमती एक छोरा र एक छोरी छन् ।












