पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा भिड (भिडियो)

ग्राहक व्यवस्थापन गर्न टोकन सिस्टम, सस्तो र गुणस्तरीय सामान पाइने उपभोक्ताको भनाई

केन्द्रभाग मिडिया

पोखरा ।
दसैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले सञ्चालन गरेको सुपथ मूल्य पसलमा ग्राहकको भिड लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा सञ्चालन गरेको सुपथ मूल्य पसलमा गुणस्तरी र सस्तो सामान पाइएपछि थेगि नसक्नु ग्राहक आएका कार्यालयका प्रमुख सागर शेरचनले जानकारी दिए ।

ग्राहक धेरै आएपछि व्यवस्थापनका लागि टोकनको व्यवस्था गरिएको छ । कार्यालय प्रमुख शेरचनका अनुसार गोदाममा सञ्चालित सुपथ मूल्य पसलमा चिनी प्रति केजी १०० रुपैयाँ प्रति व्यक्ति जम्मा ४ केजी का दरले किन्न पाइन्छ । उनका अनुसार बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँ देखि १५० रुपैयाँसम्म छ ।

त्यसैगरी नुन प्रतिकेजी २४ रुपैयाँका दरले प्रतिव्यक्ति ५ केजीसम्म, शान्ति तोरीको तेल प्रति लिटर ३८० रुपैयाँका दरले प्रतिव्यक्ति ५ लिटरसम्म किन्न पाइन्छ । सुपथ मूल्य पसलमा ५ केजीको आँटा ३४० रुपैयाँमा प्रति व्यक्ति एक प्याकेड, २ केजी मैदा को १५० दरले दुई प्याकेटसम्म किन्न पाइन्छ ।

सुपथ मूल्य पसलमा चार प्रकारका चामल किन्न पाइने साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ । जस अनुसार २५ केजीको सोना चामल १६ सय ५० रुपैयाँमा, २० केजीको लङग्रेन बास्मती चामल ३५ सय २५ रुपैयाँ, २० केजीको नातीनातिना लङ्ग्रेन बास्मती चामल ३५ सय २५ रुपैयाँमा र २५ केजीको जिरालाई २४ सय ५० रुपैयाँमा किन्न पाइन्छ ।

अन्यत्र भन्दा सस्तोमा बस्तु तथा सेवा पाइने भएकाले धेरैभन्दा धेरै लाभ लिन प्रमुख शेरचनले आम उपभोक्तालाई आग्रह गरेका छन् । काठमाडौं लगातका देशका केही सहरमा साल्ट ट्रेडिङ कर्पोरेसनका आउटलेट भएकाले त्यहाँ धेरै उपभोग्य बस्तु किन्न पाइने तर, पोखरामा चाडबाडमा मात्र सुपथ मूल्य पसल खुल्ने भएकाले धेरै सामग्री यहाँबाट विक्री गर्न नपाइएको उनले बताए ।

  • २६ आश्विन २०८३, सोमबार १२:२३ प्रकाशित