बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् ।
बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ ।
यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ। बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ । मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ । रासस












